नियम
सेवाका शर्तहरू
(१) अवैतनिक वाणिज्यदूत नियुक्त भएपछि राजदूतले नवनियुक्त वाणिज्यदूतलाई निजको कर्तव्य र उत्तरदायित्वबारे पूर्णरूपले बोध गराईदिनु पर्नेछ ।
(२) नवनियुक्त अवैतनिक वाणिज्यदूतबाट आफ्नो पद नसुहाउँदो र नेपालको अहित हुने कुनै काम गर्ने छैन भन्ने व्यहोराको लिखत गराइ सो लिखत राजदूतले मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लिखत गराइसकेपछि मात्र राजदूतले नवनियुक्त अवैतनिक वाणिज्यदूतलाई नियुक्तिपत्र, राष्ट्रिय झण्डा र कार्यालयको छाप प्रदान गर्नेछ ।
(३क) अवैतनिक वाणिज्यदूतले आफू नियुक्ति भएको कन्सुलर क्षेत्रको उपयुक्त स्थानमा स्वीकार गर्ने राज्यको स्वीकृति लिई नेपालको अवैतनिक वाणिज्यदूतको कार्यालय खडा गरी सोको जानकारी राजदूत तथा मन्त्रालयलाई दिनु पर्नेछ र त्यस्तो कार्यालय भवनमा निजले नेपालको झण्डा प्रयोग गर्न सक्नेछ ।
(४) अवैतनिक वाणिज्यदूतको कार्यावधि समाप्त भएपछि निजले राष्ट्रिय झण्डा र कार्यालयको छाप राजदूतलाई फिर्ता गर्नु पर्नेछ ।
(५) अवैतनिक वाणिज्यदूतको सुविधा, सहुलियत वा उन्मुक्ति नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।